श्री स्वस्थानी व्रत कथा
श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम स् ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
कुमारजी आज्ञा गर्नुहुन्छ । हे अगस्त्य मुनि
छब्बिसौं पीठको वर्णन मैले तिमीलाई सुनाइसकेँ । अब सत्ताइसौं पीठदेखि उताको वर्णन गर्छु । एक चित्त भई सुन । सतीदेवीका बाँकी रहेका अङ्गहरु पिठ्युँमा बोकी बेहोस् जस्ता हुनुभएका श्री महादेवजी त्यसपछि मल्लवीमा पुग्दा वायाँ पाउ पतन भयो । मल्लवी पीठ , महाकालीदेवी , कराला योगिनी , र भूपालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस शान्त र पवित्र भूमिमा द्वादशादित्य आई तपस्या गरे । महाकालीदेवी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । हामी वाह्रै महिनाका स्वामी हुन पाऊँ भनी द्वादशादित्यले वर माग्दा ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। २७ ।। त्यसपछि देवीकोटमा पुग्दा वायाँ घुँडो पतन भयो । देवीकोट पीठ , भद्राक्षीदेवी , ललिता योगिनी ,मालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा मेषादि बाह्रराशिहरु आई तपस्या गरे । भद्राक्षी देवी प्रशन्न भएर के वर माग्छौ माग भन्नु भयो । मनुष्यहरु हाम्रा अधिनमा रहुन् भनी मेषादि राशिहरुले वर मागे । ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। २८ ।। फेरि मातुलेश्वरमा पुग्दा दायाँ स्तन पतन भयो । त्यस ठाउँमा मातुलेश्वर पीठ , योगेश्वरी देवी , पिङ्गला योगिनी , वुधराधेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यस्थलमा कश्यपादि ऋषिवृन्द आएर तपस्या गरे । योगेश्वरी देवी प्रशन्न हुनुभएर हे ऋषि हो १ वरदान माग भन्नुभयो । चारैवेद हाम्रा अधिनमा होउन् भनी ऋषिहरुले वरदान माग्दा ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। २९ ।।
त्यहाँ उप्रान्त विश्वमा पुग्दा वायाँ स्तन पतन भयो । विश्व पीठ , भुवनेश्वरी देवी , भुवन योगिनी , कृष्ण वर्णेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस रम्यभूमिमा कृष्ण आई तपस्या गर्दा भुवनेश्वरी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । श्रीकृष्णले पनि तीनै लोकका स्त्रीहरु मलाई देख्दा मुग्ध होउन् भनी वरमाग्दा ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३० ।। फेरि श्री महादेव राजगृहमा पुग्नुभयो । त्यहाँ सतीदेवीको दाहिने कुहुनो पतन भयो । राजगृह पीठ , राजगृहेश्वरीदेवी , उल्कामुखी योगिनी , हरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा वायु आई सुगन्ध बहाई तपस्या गरे । प्रशन्न भएकी राजगृहेश्वरीदेवीले जीवात्माहरुको प्राणवायु हुन सकौं भनी वायुले मागेका वरदानलाई ‘तथास्तु’ भन्नुभयो । ।। ३१ ।। फेरि महापन्थमा पुग्दा देव्रे कुहुनो पतन भयो । महापन्थ पीठ , प्रचण्डिका देवी , रेणुका योगिनी , विश्वामित्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पूण्यभूमिमा अप्सराहरुले नृत्य र गायनद्वारा तपस्या गरे । प्रशन्न भएकी ईश्वरीले वरदान माग भनेको सुनी इन्द्रादि देवताहरुलाई प्रशन्न पार्न सकौं भनी अप्सराहरुले मागेको वरलाई प्रचण्डिका देवीले ‘तथास्तु’ भन्नुभयो । ।। ३२ ।।
त्यसपछि कोलापुरमा पुगी उदर पतन भयो । कोलापुर पीठ , महालक्ष्मीदेवी , नन्दा योगिनी , श्मशानेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा गरुड आई नाना रत्न र फलफूल चढाई तपस्या गरेको देखी प्रशन्न भएकी महालक्ष्मीदेवीले वर माग भन्नुभयो । नागहरु मेरा आहारा होउन् भनी गरुडले वर मागे । ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३३ ।। त्यसपछि सतीदेवीका बाँकी रहेका अहङ्गहरु बोकी एकापुरमा पुग्दा दायाँ घुँडो पतन भयो । एकापुर पीठ , साध्वक्षीदेवी , शंकुपा योगिनी , उन्मत्तेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पूण्यस्थानमा शिलाहरु आएर तपस्या गरे । ईश्वरी प्रशन्न हुनुभई वर माग भन्नुभयो । हामी देवताका अङ्गमा लाग्न पाऊँ भनी शिलाहरुले वर मागे । ईश्वरी साध्वक्षीदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३४ ।। फेरि जयन्तीपुरमा पुग्दा कलेजो पतन भयो । जयन्तीपुर पीठ , जयन्तीदेवी , खेचरा योगिनी , कल्पेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस शुद्धभूमिमा तुलसी र कुश आई तपस्या गरे । ईश्वरी प्रशन्न भई वरदान लेऊ भन्नुभयो । स्वर्ग , मत्र्य र पाताल तीनैलोकजनले हामीलाई मानुन् भनी तुलसी कुशले वरदान मागे । ईश्वरी जयन्तीदेवी प्रशन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३५ ।। त्यसपछि उज्जैनमा पुग्दा रगतको डल्लो पतन भयो । उज्जैन पीठ , महाकालीदेवी , लोला जिह्वा योगिनी , झङ्केश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पूण्यभूमिमा हिमालयपर्वत आई तपस्या गरे । ईश्वरी प्रशन्न हुनुभई वरदान माग भननुभयो । हिमालयले देवता , दैत्य र मनुष्यलाई मोक्ष पार्न सकुँ भनी वर मागे । महाकालीदेवीले प्रशन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३६ ।।
त्यहाँबाट चरित्रपुर भन्ने ठाउँमा दायाँपट्टिको करङ पतन भयो । चरित्रपुर पीठ , सुवर्णेश्वरीदेवी , चित्रवर्णा योगिनी , वायव्येश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पूण्यभूमिमा योगिनी गण आई तपस्या गरे । प्रशन्न भएकी ईश्वरीले वरदान लेऊ भनी आज्ञा दिनुभयो । योगिनी गणले हामीबाट यज्ञमा सिद्धि प्राप्त होस् भनी वरदान मागे । सुवर्णेश्वरीदेवीले प्रशन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३७ ।।
फेरि क्षीरिकापुरमा पुगी भुँडी पतन भयो । क्षीरिकापुर पीठ , युगाद्यादेवी , कलंकी योगिनी , सहस्रनेत्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा मातृकागण आई विविध उपचार सहित पूजा र तपस्या गरे । ईश्वरीले प्रशन्न भएर वरदान लेऊ भन्नुभयो । मातृकागणले पनि हामी स्थानका मालिक हुन पाऔं भनी वर मागे । ईश्वरी युगाद्यादेवीले प्रशन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३८ ।।
फेरि हस्तिनापुरमा गई दायाँ कुम पतन भयो । हस्तिनापुर पीठ , चण्डेश्वरी देवी , कोटराक्षी योगिनी , मुसुखारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस वीरभूमिमा सुदर्शन चक्र आई तपस्या गरे । प्रशन्न भएकी ईश्वरीसित संहारकर्ता हुनपाऊँ भनी सुदर्शन चक्रले मागेको वरलाई चण्डेश्वरीदेवीले प्रशन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३९ ।।
त्यसपछि प्रयाग पुग्दा फोक्सो पतन भयो । प्रयाग पीठ , सुन्दरी देवी , सिँह प्रजंधा योगिनी , महेन्द्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा दशअवतार आई तपस्या गरे । प्रशन्न भएकी ईश्वरीले वरदान लेऊ भन्नुभयो । सत्य आदि चारै युगमा दैत्यहरुको संहार गर्न सकौं भनी दशअवतारले वर मागे । ईश्वरी सुन्दरी देवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४० ।।
फेरि विश्वमा पुगी मिर्गौला पतन भयो । विश्व पीठ , झङ्केश्वरीदेवी , झङ्काली योगिनी , कुण्डलेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस कर्मभूमिमा विश्वकर्माले राम्राराम्रा मन्दिरहरु बनाएर तपस्या गरे । त्यो देखी ईश्वरी झङ्केश्वरीदेवी प्रशन्न हुनुभएर सत्य आदि चारै युगमा तिम्रो कीर्ति स्थिर रहोस् भनी वरदान दिनुभयो । ।। ४१ ।।
फेरि मायापुरमा पुग्दा फियो पतन भयो । मायापुर पीठ , मायादेवी , चञ्चला योगिनी , तपस्येश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा चतुर्षष्ठी लिङ्ग आई तपस्या गरे । ईश्वरी प्रशन्न भई वरदान माग भन्नुभयो । चतुर्षष्ठी लिङ्गले हामी स्वयम्भू लिङ्ग भइराहौं भनी वरदान मागेपछि इश्वरी मायादेवीले तथास्तु भनी वरदान दिनुभयो । ।। ४२ ।। त्यसपछि मल्लगिरीमा पुगेपछि देव्रे कुहुनो पतन भयो । मल्लगिरी पीठ , मल्लिका देवी , कोकटा योगिनी , कुशोत्पनेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पूण्य घोर वनमा भूत, प्रेत , पिशाच अदि आई नाची खेली तपस्या गरे । ईश्वरीले प्रशन्न भई वरदान लेऊ भन्नुभयो । भूत, प्रेत , पिशाच अदिले देवी कै नजिक बस्ने इच्छा व्यक्त गरे । ईश्वरी मल्लिकादेवीले आफ्नै सामिप्य दिई ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४३ ।।
त्यहाँबाट मेरुगिरीमा पुग्दा शुचीस्थान पतन भयो । मेरुगिरी पीठ , पूर्णांदेवी ,कपालिनी योगिनी , जिह्वापतेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा सप्तनाग आई हीरा , मोति मणि–माणिक्य आदि नाना रत्न चढाई तपस्या गरे । ईश्वरी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । हाम्रो शरीर अगम्य हाओस् भनी नागहरुले वरदान मागेपछि ईश्वरी पूर्णांदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४४ ।।
त्यसपछि महेन्द्राचलमा पुग्दा दक्षिण जङ्घा पतन भयो । महेन्द्र पीठ , इन्द्राक्षीदेवी , उध्र्वगामिनी योगिनी , तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा लक्ष्मीदेवी आई नाना उपचार सेवा गरिन् । ईश्वरी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । लक्ष्मीदेवीले प्रत्येक वर्षको कार्तिक कृष्ण आमावाश्याका दिन लोकमा मेरो पूजा र सम्मान होओस् भनी माग्नुभयो । ईश्वरी इन्द्राक्षीदेवीले पनि ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४५ ।। त्यसपछि वानरपुरमा पुगी सतीदेवीको देब्रे तिघ्रो पतन भयो । वानरपुर पीठ , कामेश्वरीदेवी , भैरुण्डा योगिनी , वेदान्तेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा कमल आदि पुष्प आई तपस्या गरे । ईश्वरी सन्तुष्ट हुनुभई वरदान माग भन्नुभयो । कमल आदि पुष्पहरुले हामी उषाकालमा सौन्दर्यसाथ फक्रन पाऊँ भनी वरदान मागे । यो सुनेर कामेश्वरी देवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४६ ।।
फेरि हिरण्यपुर पुग्दा गर्भस्थान पतन भयो । हिरण्यपुर पीठ , नवरत्नेश्वरीदेवी , त्रिपुरेन्द्र योगिनी , नारदेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस ज्ञानभूमिमा सरस्वती आई धेरै दिव्य स्तुति गरी तपस्या गरेको देखेर ईश्वरी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । सरस्वतीले पनि लोकका जति जीवात्मा छन् तिनका वाणीमा गएर बस्न पाऊँ भनी वर माग्नुभयो । यो सुनी नवरत्नेश्वरीदेवीले पनि ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४७ ।। त्यहाँबाट महालक्ष्मीपुरमा पुर्याएकी सतीदेवीको देब्रपट्टिको करङ पतन भयो । लक्ष्मीपुर पीठ , कमलाक्षीदेवी , दिगम्बरा योगिनी , त्रिकुटेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा अणिमादि आठ सिद्धि आई योग मार्गले तपस्या गरे । ईश्वरी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । अष्टसिद्धिले पनि हामी अमर हुनपाऊँ भनी वर मागे । यो सुनी कमलाक्षीदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४८ ।। फेरि उमेशपुरमा पुग्दा नितम्ब पतन भयो । उमेशपुर पीठ , त्रिपुरसुन्दरीदेवी , सुशंकोदरी योगिनी , भैरवेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस रम्यभूमिमा मेघ आई मानसोपचारले पूजा गरे । ईश्वरी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । मेघले पनि लोकको उद्धारका निम्ति जलदान गर्न सकुँ भनी मागे । ईश्वरी त्रिपुरसुन्दरीदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४९ ।। त्यसपछि छायाछत्रमा पुग्दा शेष रहेका सतीदेवीका अङ्गहरु सबै पतन भए । छायाँछत्र पीठ , छत्रेश्वरी देवी , सुकोमला योगिनी , पिशाचेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस शान्तभूमिमा अष्ट भैरब आई नाना उपचारले पूजा गरे । ईश्वरीले दर्शन दिई वरदान लेऊ भन्नुभयो । हर्षित भएका अष्टभैरबले पनि मातृकागणको अधिपति हुन पाऊँ भनी मगे । ईश्वरी छत्रेश्वरीदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ५० ।।
हे अगस्त्य मुनि १ “जहाँजहाँ सतीदेवीका अङ्गहरु पतन भए , त्यहाँत्यहाँ एकएक पीठका उत्पत्ति हुँदै गए भनी मैले माथि पनि बताइसकेको छु । सबै पीठहरुको सँख्या साढेसात कोटी छन् अर्थात सात करोड पचासलाख छन् । ती मध्ये यहाँ वर्णन गरिएका पचास पीठहरुका मात्र दर्शन गरे पनि मनोकामना पूर्ण हुनेछ । यी पचास मध्ये एक पीठको मात्र पनि भक्ति र श्रद्धापूर्वक दर्शन , पूजा र सेवा गरे पनि मनोवाञ्छित इच्छा सिद्धि हुनेछन् । मनुष्य जन्म पाएर सबै शक्ति पीठ पुगेमा त जीवन अत्यन्तै अत्यन्तै महासफल हुनेछन् । एकै पीठको मात्र दर्शन गर्नाले पनि जन्म सफल हुनेछन् । जीवन सफल हुनेछन् । नराम्रा कुराहरुमा मन लाग्ने छैनन् । राम्रा राम्रा बिचारहरु जन्मनेछन् । आफ्ना राम्रा बिचारहरुबाट संसारमा ज्योति फैलिई अन्धकाररुपी नराम्रा बिचारहरु हराएर जानेछन् । यी सब श्री महादेवजीका शिवशक्ति स्वरुपका अत्यन्तै साना अंशहरुका अत्यन्तै ठूला फल दिने पीठहरु हुन् । त्यसैले श्री स्वस्थानी परमात्माको यो पीठको कथा सम्पूर्ण श्रवण गर्नु पर्दछ । ” भन्ने यी फलदायी अर्तिउपदेशहरु चतुरानन व्रम्हाजीको कथन छ ।
आगौं कथा अर्को अध्यायमा ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
पीठोत्पत्ति वर्णन नाम दशमोअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय १ जय ११ जय १११
ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।