श्री स्वस्थानी व्रत कथा
श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि
केही दिनपछि लगन ठहराइएको दिनमा श्री विष्णु दक्षप्रजापतिका घरमा पुगी महादेवको बाटो हेर्न थाल्नुभयो । दक्षप्रजापतिले पनि विवाहको सामग्री तयार गराई यज्ञको विधि पश्चात कन्यादान दिन तयार भए । कैलाशमा श्री महादेव भने बिष, भाङ्ग , धतुरो खाई मस्त भई विवाहमा जान भुल्नुभयो । “श्री महादेवजी अझै आइपुग्नु भएनन् , कन्यादानको समय हुन आँट्यो मैले यो दान थापेँ भने श्री भोलेनाथमाथि अन्याय हुन्छ अब कसो गरुँ ? के गरुँ ?” भनी मनमा खुलदुली , आकुल ब्याकुल गरेर विष्णु भगवान छटपटाउनु थाल्नुभयो । उता श्री महादेवजीको पनि त्यसैबेला चेत खुल्यो अनि कन्यादानको बेला हुन लागेको झट्ट सम्झनुभयो र जागा हुनुभयो अनि श्री विष्णु भगवानले अह्राउनु भएअनुसार विवाह मण्डपमा पुग्नुभयो र भन्नुभयो –“ हे दक्ष प्रजापति म अति टाढाबाट आएको छु । मलाई धेरै भोक लागेको छ । मलाई भीक्षाटन नगरी कन्न्यादान लिएमा वा दिएमा दुबैपक्षलाई श्राप दिन्छु ।”
विष्णु :– हे वृद्ध भीक्षुक ! कन्यादानको समय ठीक हुन आँट्यो यो लगन टार्नु हुँदैन । कन्यादान सक्ने वित्तिक्कै तिमीले भीक्षा लेऊ । अहिले मसँगै छेउमा आई बस ।
त्यसपछि श्री महादेवजी बिष्णु भगवानको छेउमा आएर बस्नुभयो । त्यसैबखत भगवान विष्णुले आफ्नो मायाले दक्षप्रजापतिको आँखा छली मन्त्र पढेर दक्षप्रजापतिले हात सुम्पन लागेको बेला सतीदेवीको हात वृद्ध संन्यासीको रुप लिएका महादेवको हातमा पारिदिनुभयो । माया हटिसकेपछि दक्षप्रजापतिलाई चेत आयो र मनमा बडो खेद मानीकन भने :– हे विष्णु ! तिमी कपटी रहेछौ , तिम्रो छलले गर्दा मेरी पुत्री यस अवस्थामा पुगी । तिम्रो विश्वासमा परी म ठगिएँ ।”
दक्षप्रजापतिले यसो भनेको सुनी तत्कालै भगवान विष्णु सन्यासीरुप महादेवसित विदा भई अन्तध्र्यान भई विष्णुलोक बैकुण्ठमा जानुभयो । विष्णु भगवान जानुभइसकेपछि दक्षप्रजापतिले छोरीतिर हेरे र भने :– हे पुत्री सतीदेवी ! पापिष्ठ विष्णुका छलले गर्दा आज तिमीले यस्ता वृद्ध सन्यासी स्वामी पायौ । दुःख कत्ति पनि नमान । हामी नै तिमीलाई पालौंला । अहिलेलाई मनमा धैर्य राखी यिनै संन्यासीसित जाऊ । ” आफ्ना पिताले भनेका यी कुरा सुनी “ आफ्नी सबै बहिनीहरुले देवता स्वामी पाएका तर आफू भने वृद्ध संन्यासीका हातमा परेको” सम्झी बडो विषाद गरी आफूलाई धिक्कारी भक्ककानिएर रुन थालिन् । केहीबेरपछि आफूले आफूलाई सम्झाउँदै बरबराउन लागिन् “ मेरो कर्ममा जे लेखिएको थियो त्यही भयो । अब रोएर मात्र के हुन्छ र ! जसै गरेपनि मेरो पाणी ग्रहण गर्ने पुरुष भनेका यिनै वृद्ध संन्यासी हुन् ।” भनी आफैले आफैलाई बुझाएर धैर्य गरिन् । अनि संन्यासी रुपमा श्री महादेवजीले पनि सतीदेवीलाई आज्ञा गर्नुभयो :– “हे स्त्री ! अब हामीले यहाँ बसेर हुन्न । हाम्रो घर जानुपर्छ । तिमीले अब आफ्ना बाबामहतारीसँग विदा माग । ” स्वामीको यस्तो आज्ञा सुनी सतीदेवीले आफ्ना मातापिता दक्षप्रजापति र विरणी भएका ठाउँमा गएर “ हे पिता ! हे माता ! म अब पतिका साथ जान्छु । मलाई बिदा दिनुहोस् ।” भन्दै बिदा मागिन् । छोरीको कुरा सुनी विरह व्यथाले मुटु गाँठो पारी आँखाभरी आँसु लिएर “ जाऊ पुत्री ” भनी बाबा महतारीले रुँदै बिदा दिएपछि उनीहरुलाई प्रणाम गरी सतीदेवी पनि आफ्ना वृद्ध संन्यासी पतिका साथ लागिन् ।
जाँदाजाँदा बाटामा संन्यासीरुप महादेवबाट आज्ञा भयो “ हे सुन्दरी ! तिमी सुकुमारी , कोमलाङ्गी , बाबाका घरमा सुखले पालिएकी , यस्तो अप्ठेरो बाटोमा हिँड्न कत्ति कष्ट भयो होला तिम्रो पाउ दुख्ला , जिउ गल्ला , सुस्त सुस्त हिँड ।” पतिले आफूलाई गरेको मीठो वचन सुनी सतीदेवील भनिन् ः– हे स्वामी ! म भरखरकी छु , हिँड्न सक्छु । उमेरको दृष्टिले हजूरबृद्ध भएकोले हिँड्न गाह्रो पर्छ । मलाइ ता के हुन्छ र ? बरु हजूर सुस्त सुस्त हिँडिबक्सिए बेश होला ” भन्दै अरुपनि धैर्यका थुप्रै कुराहरु गरेर आफ्ना स्वामीलाई सन्तोष दिलाइन् । आफूलाई भर्खरकी युवती र पतिलाई भने वृद्ध देखेर “ मेरा पतिलाई कसैले हप्काए वा केही गरी मलाई खोसी लगे भने के होला ?” भनी मनमा अनेकौं तर्कना र चिन्तना गरी सतीदेवीले पतिलाई एकैछिनपनि नछोडी सँगसँगै हिँड्न थालिन् ।
जाँदा–जाँदा कैलाशको नजिकमा पुगेपछि सतीदेवीको चरित्र जाँच गर्नुपर्यो भनी श्री महादेवजीले कैलाशका शिखरमा एउटा खरले छाएको झुप्रो निर्माण गर्नुभयो । अनि भन्नुभयो :– हे स्त्री ! हाम्रो घर अब आइपुग्नै आँट्यो । ऊ त्योमाथि देखिएको छाप्रो हाम्रो घर हो । त्यहाँ पुगेर विश्राम गरौं ।” भनी झुप्रोमा पुर्याउनुभयो । त्यहाँपुगेपछि :– हे प्रिये ! भित्र गएर केही खाऊ र थकाइ मार । म पनि धेरै थाकेँ । एकछिन बाहिरै सुत्छु ।” भनी विष, भाङ्ग , धतुरो खाई छाप्रो दैलो बाहिर भुइँमा पल्टिनुभयो । सतीदेवीलाई सानो खरले छाएको झुप्रो घर देख्दा आफ्ना बाबाको घरको याद आयो र मन ज्यादै आकुल गरिन् । “ त्यस्ता महलमा बसेकी मलाई आज यस्ता घरमा आई बस्नुपर्यो ” भनी दुबै आँखाबाट बलिन्द्रधारा आँसु बगाइरहिन् । फेरि चेष्टा भयो र “ दैवले आफ्ना निधारमा जे लेख्या हो सो भएरै टर्छ । अब सुर्ताएर केही हुँदैन । ” भनेर आफ्नो मन आफै बुझाई आँसु पुछिन् । केहीबेरपछि घरभित्र पसी हेर्दा कुनाकाप्चा , भित्तो र छानोतिर माकुरोको जालै–जाल मात्रै देखेर कुचोले माकुरोको जालो बढारिन् । “ पतिदेब ब्युँझिबक्सिएपछि के खानुहोला ” भनी सबैतिर खानेकुराहरु खोज्न थालिन् । केही खानेकुरा देखिनन् र श्रीमहादेवजीको चरणको मुख्याञ्जी हँसिली बनी बसिरहिन् ।
घरमा आइपुगेको चरदिनपछि मात्र महादेवको निन्द्रा टुट्यो । आफ्ना गोडामुनि हँसिली बनी बसिरहेकी सतीदेवीलाई देखी साह्रै मायाको आँसु निक्लनथाल्यो श्री महादेवजीको । तैपनि हर्षासुँ दबाएर बाहिरबाट रिसाएजस्तो गरेर “ हे पापिनी ! मलाई एक्लै बाहिर सुताएर आफूचाहिँ भित्र सुतिस् ? सो हुँदा पनि तँलाई केही खानु पर्दैन नि ? केही खाइस् कि खाइनस् ? ” भन्नु्भयो । यसरी आफ्ना स्वामी रिसाउन लागेको देखी नारीमा हुनुपर्ने नम्रता र पतिभक्त आदि गुणले युक्त भएकी सतीदेवीले जून झैं उज्यालो र हँसिली मुख लगाई संन्यासीरुपी श्री महादेवजीको मुहार हेरिरहहिन् । अनि भनिन् :– हे स्वामी ! थकाइले गर्दा हजूर साह्रै निदाइबक्सेको देखी विउँझाउन सकिन । म सुतेकी छैन । हजूरकै छेवैमा बसिरहेकी छु । अब हजूर के खाइबक्सन्छ । मैले ता भित्र भाँडामा भएका मीठा–मीठा मीठाईहरु खाइसकेकी छु । ” भनिन् । रुपकी राम्री त्यसमाथि नाना श्रृङ्गारले सजिएकी रिस र अरु सबै अबगुणहरु पैतालामुनि दबाएकी पतिव्रता सतीदेवीले भनेको कुरा सुनी नारीमा हुनुपर्ने सम्पूर्ण गुणहरु भएको बुझी ठूलो करुणा लिई श्री महादेवले भन्नुभयो “ प्रिये यहाँ के थियो र खायौ हौला ? यो ता हाम्रो घर होइन । त्यो खरले बारेको भित्तो च्यातेर पल्ल्लातिर हेर त ! ” यति पतिको कुरा सुनेर सतीदेवी भन्छिन् :–“ हे स्वामी ! भएको घरलाई भत्काएर नभएको घर कहाँ हेर्नु ? म स्त्री जाति र हजूरको बूढो उमेर ! भत्केको घरलाई कसले बनाइदेला ?” सतीदेवीको कुरा सुनी संन्यासीरुपी श्रीमहादेवजीले खरको भित्तोलाई लात्ताले हानेर कैलाशपुरीको दर्शन गराउनुभयो ।
धेरै रत्न धातु , मणिमाणिक्य आदिले सुशोभित , चिन्तामणि र कल्पवृक्ष आदिले वेष्टित कैलाशको रमाइलो शान्त ठाउँमा सुवर्ण नै सुवर्णले बनाएको आफ्नो घरलाई देखी अति प्रशन्न भएकी सतीदेवीले आफ्ना बाबाको भन्दा पनि अति सुन्दर र उत्तम घरदेखि आश्चर्यमा पर्दो भइन् र धेरै खुशी भई हर्षका आँसु बगाइन् र “धन्य मेरो पतिदेव” भनिन् । त्यसपछि संन्यासीरुप धारण गरेका श्री महादेवजीले कैलाशको चोकका माझमा गाईको गोबरले लिपेर रेखीले अखण्ड मण्डलाकार बनाउन आदेश दिनुभयो । आदेश अनुसारको जस्तो कार्य भइसकेपछि संन्यासीरुपी श्री महादेवजी त्यो मण्डलाकारभित्र विराजमान भएर “ हे प्रिये ! अब मेरो सक्कली रुपलाई हेर । ” भनी कपूर जस्तो स्फटिक वर्ण , करुणाका मूर्ति ,संसारका सार र नागका माला हार लगाएको आफ्नो साकार अतिनै जाज्वल्यमान रुपको दर्शन गराउनुभयो । यस्तो विश्वम्भरमूर्तिको दर्शन पाएर सतीदेवीले हर्षासुँ बगाई “कैलाशपति श्री महादेवजीलाई मैले आफ्नो स्वामी बनाउन पाएकी रहेछु् । म धन्य भएँ । ” भन्दै फूलको माला हातमा लिएर कमन्डलुको जलधारा बगाई तीन पल्ट परिक्रमा गरेर श्री महादेवजीको गलामा पहिर्याएर शाष्टाङ्ग प्रणाम गरिन् । त्यसपछि महादेव तथा सतीदेवी शिवशक्ति स्वरुपले रहँदा भए । अर्को प्रशङ्ग पञ्चम अध्यायमा बताउनेछु ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
सतीदेवी कैलाशगृह प्रवेश वर्णनं चतुर्थअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय ! जय !
ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।