astrokhemmishra@gmail.com | 9767678383

मानव जीवनमा ग्रह दशाको प्रभाव

परिचय ः                                                                                                                  –ज्योतिषाचार्य खेम मिश्र          
           मानिसले जीवनमा जन्मदेखि मृत्युसम्म अनेक घटना र परिस्थीतिको सामना गरिहेको हुन्छ । अझ हामी पूर्व जन्ममा विश्वास गर्नेहरुले त झन यो पनि भनिरहेका हुन्छौँ की मानिस रहेक जन्मबाट अनेक दुख÷सुख परिस्थीति सामना गर्दै आएको हुन्छ र यो जन्म पछि पनि ऊ आफ्नो कर्मको आधारमा दुख/सुख भोग गर्दै अर्को जन्मको लागि यात्रा तय गर्दछ । मानव जीवनमा अनगिन्ती घटनाहरू र परिस्थितिहरू घटिरहेका हुन्छन् त्यी मध्य केही घटनाहरूले हाम्रो जिवनमा भयंकर नराम्रो प्रभाव पार्दछ । त्यस्ता घटनाबाट मानिस विक्षिप्त बन्दछ र जीवनभरि आतंकित एवम् भयभित भईरहन्छ । उदाहरणको लागि व्यक्तिले अकस्मात धन सम्पत्ती गुमाउँदछ, आफन्त एवम् प्रियजन गुमाउदछ, शारिरीक एवम् मानसिक कष्ट भोग गर्दछ । अकस्मात व्यक्तिले मरितुल्य जीवन बिताउने दिन आउँछ ।
          कतिपय आकस्मीक वा परिस्थितीजन्य घटनाले व्यक्तिको जिवनमा सकारात्मक अवसरहरु पनि प्रदान गर्दछ । सबैले हेला/अपमान र तिरस्कार गरेको व्यक्ति पनि अकस्मात सफल एवम् पराक्रमी भईदिन्छ वा भनौँ सामान्य व्यक्तिको जिवन रातारात कायापलट हुन्छ । यस्तो अवस्थामा व्यक्तिको जिवनमा एकै पटक नाम, दाम, सुख, सम्बृद्धि प्राप्त हुन जान्छ । व्यक्ति लोकप्रिय एवम् सफल बन्दै जान्छ । शास्त्रका अनुसार व्यक्तिले राजा समान सुख भोग पनि गर्दछ । 
          ज्योतिष शास्त्रका अनुसार मानिसमा देखिने सबै सकारात्मक वा नकारात्मक घटना र परिस्थीतिको कारण ग्रह दशा र ग्रहहरूको स्थिति नै हो । आकाशिय पिण्ड(ग्रह) ले हरेक सजिव एवम् निर्जिव वस्तुलाई प्रत्यक्ष एवम् अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । नव ग्रह (सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पती, शुक्र, शनि, राहु र केतु) को अवस्था र गतिले व्यक्तिको जीवनमा पल पलमा प्रभाव पारिरहेको हुन्छ । ग्रहहरुले तय गर्ने स्थान, कोण, दुरी, युति र बलादि अवस्थाले व्यक्तिको हरेक पक्षलाई प्रभावित पारिदिन्छ । व्यक्तिकोे स्वास्थ्य, सुन्दरता, व्यवशाय, धन, सन्तान, पराक्रम, दाजुभाई, दाम्पत्य जीवन, सुख/शान्ति, रोग, भाग्य, वैदेशिक योग, सरकारी जागिर वा अन्य सम्पूर्ण क्षेत्रमा ग्रहहरुले सकारात्मक वा नकारात्मक प्रभाव पार्दछन् । 
          ग्रहले कसरी आफ्नो प्रभाव दिन्छ भन्ने कुराको अनेक उदाहरण दिन सकिन्छ । जस्तै, चन्द्रमा ग्रहको प्रभावबाट समुन्द्रमा ज्वारभाटा जान्छ वा समुन्द्रमा भएको जललाई तरंगित बनाईदिन्छ, ठीक यसै गरि चन्द्रमाले मानिसको मन र मस्तिष्कलाई पनि तरंगीत बनाईदिन्छ । सूर्य ग्रहको प्रभावबाट सूुर्यमुखी फूल प्रभावित हुन्छ । जताजता सूर्य जान्छन त्यतै सूर्यमुखी फूल ढल्कीन्छ । अर्को उदाहरणका रुपमा कमलको फूललाई पनि लिन सकिन्छ । सूर्यको किरण पाएपछि मात्र कमलको फूल फक्रन्छ र जब राती सूर्यको किरण पाउँदैन तब ओईलाउँछ । ग्रहहरुले ठिक यसै गरि प्रत्यक पलपलमा धर्तीमा रहेका सम्पूर्ण सजिव प्राणी एवम् निर्जिंव वस्तुमा आफ्नो प्रभाव दिईरहेको हुन्छ । अब हामी सामान्यतया नव ग्रहको अवस्था अनुसार मानिसलाई त्यसको प्रभाव र असर कस्तो हुन्छ भन्ने बारे जानौँ ।
ग्रहहरुले पार्ने प्रभाव र त्यसको असर
          जन्म कुण्डली एक प्रकारको खगोलिय चार्ट हो । यसमा व्यक्ति जन्मको मिति, समय र स्थानको आधारमा ग्रहहरूको स्थिति देखाइन्छ । प्रत्येक ग्रहको आफ्नो छुट्टै विशेष गुण, प्रभाव र कार्यक्षेत्र हुन्छ जसले व्यक्तिको जीवनलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित गर्न सक्छ । ग्रह दशा हाम्रो जीवनका महत्वपूर्ण निर्णयहरू, भावनात्मक प्रतिक्रियाहरू र जीवनको प्रमुख घटनाहरूलाई मार्गदर्शन गर्दछ । जब ग्रहहरूको स्थिति अनुकूल हुन्छ, तब हामीलाई सफलता र सुख मिल्छ र जब स्थिति प्रतिकूल हुन्छ, तब हामीले समस्याहरू र कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ । ज्योतिषशास्त्रका अनुसार नव ग्रह( नौ ग्रह)को प्रभाव र त्यसको असरलाई सामान्यतया यसरी बुझ्न सकिन्छ । 
. सूर्य (Sun)
          सूर्य आत्मा कारक ग्रह हो । यो ग्रह आत्मविश्वास, नेतृत्व क्षमता र अस्तित्वको प्रतीक हो । सूर्य लैङ्गिक रुपमा पुरुष कारक ग्रह हो । व्यक्तिको जन्म कुण्डलीमा सूर्यको अनुकुलता भएमा पिताको सुख प्राप्त हुन्छ । त्यस्तो व्यक्ति तेजस्वी हुन्छ । सरकारी जागिर वा राज्यको लाभ प्राप्त गर्दछ । व्यक्तिलाई गुणवान, तेजस्वी एवम् राजा समानको पुत्र प्राप्ती हुन्छ । सूर्यको महादशामा व्यक्तिले माथि उल्लेखित शुभ फल प्राप्त गर्दछ । 
          यदि जन्म कुण्डलीमा सूर्यको अवस्थामा राम्रो छैन भने यसले व्यक्तिको आत्मविश्वास एवम् साहसमा कमी ल्याउँछ । व्यक्तिलाई आफ्नो पेशामा सफल हुन कठिन हुन्छ । परिवारजन संगको सम्बन्ध राम्रो हुदैँन र बुवासंगको सुख÷सम्बन्ध राम्रो हुदैँन । जन्म कुण्डलीमा खराब अवस्थामा सूर्य ग्रह भएमा र उक्त व्यक्तिलाई सूर्यको नै महादशा चलेको समयमा प्रतिकूल स्थिति असुरक्षा र संकट पनि ल्याउन सक्कने हुन्छ र सार्वजनिक जीवनमा संघर्ष हुन सक्छ ।
. चन्द्रमा (Moon)
          चन्द्रमा मन कारक ग्रह हो । यसले व्यक्तिको मनोभावनात्मक अवस्था र मानसिक स्थिति को प्रतिनिधित्व गर्दछ । व्यक्तिको जन्म कुण्डलीमा यदि चन्द्रमा शुभ अवस्थामा छ भने उक्त व्यक्ति मानसिक रुपमा शान्ति प्राप्त गर्दछ । मन स्थिर एवम् शुद्ध रहन्छ । व्यक्ति कल्पनाशिल एवम् सृजनशिल हुने गर्दछ । शुभ चन्द्रमाको महादशामा व्यक्तिले सामाजिक एवम् राज्यबाट लाभ प्राप्त गर्दछ । आमाको सुख प्राप्त गर्दछ । व्यक्ति सधैँ शितल एवम शान्त र सुखी हुने हुन्छ ।  
          चन्द्रमा यदि प्रतिकूल स्थानमा छ भने, व्यक्तिमा मानसिक तनाव, चिन्ता र अनावश्यक डर बढ्न सक्छ । जन्म कुण्डलीमा खराब अवस्थामा चन्द्रमा छ र चन्द्रमाको नै महादशा चलेको छ भने व्यक्ति निर्णय लिन असक्षम हुन्छ । डिप्रेसनको सिकार हुनसक्छ । व्यक्तिले आफुले गरेको हरेक निर्णयमा असफलता एवम् विवादमा आउन सक्ने हुन्छ । 
३. मंगल (Mars)
          मंगल ग्रहलाई ग्रहमण्डलको सेनापति ग्रह मानिन्छ । मंगल ग्रहले व्यक्तिकोे साहस, ऊर्जा र युद्धको भावना निर्धारण गर्दछ । व्यक्ति धैर्यवान र आँटिलो बनाउँदछ । यसको सकारात्मक स्थिति जीवनमा साहस र लक्ष्य प्राप्ति मा मद्दत पुर्याउँछ । पुरुष कारक ग्रह मंगलले व्यक्तिलाई शासन चलाउने क्षमता प्रदान गर्दछ । कुटनिती एवम् नेतृत्व प्रदाान गर्दछ । मंगल ग्रह जन्म कुण्डलीमा शुभ भएमा र मंगलकै महादशा चलेको अवस्थामा व्यक्तिले राज्यबाट लाभ प्रदान गर्दछ । व्यक्तिको पाचनशक्ति पनि बलियो हुने गर्दछ । व्यक्ति पराक्रम गर्न सक्दछ र दाजुभाई संगको सम्बन्ध पनि मजबुत हुने गर्दछ ।
          जन्मकुण्डलीमा मंगल गह कमजोर भएमा र मंगल ग्रहको नै महादशा चलेको समयमा व्यक्तिले साहस गुमाउँदछ । मान, प्रतिष्ठा र पद समेत गुमाउन पुग्ने हुन्छ । यसको प्रतिकूल स्थितिले झगडा, आक्रामकता र स्वास्थ्य समस्याहरू ल्याउन सक्छ । विशेष गरि पाईल्स, एपेन्डीक्स, ग्याष्ट्रिक, अल्सर जस्ता जटिल समस्या देखाउन सक्छ । व्यक्तिको अप्रेसन समेत गराईदिन सक्ने हुन्छ ।  
४. बुध (Mercury)
          बुध नपुंशक ग्रह हो । बुध ग्रहले व्यक्तिलाई बौद्धिक क्षमता, व्यापार, धन, वाणि, धर्म, सृजना गर्ने शक्ति प्रदान गर्दछ । बुधले व्यक्तिलाई धनवान एवम् विद्यावान बनाउँदछ । जन्म कुण्डलीमा बुध ग्रहको अवस्था शुभ छ र बुधको नै महादशा चलेको छ भने व्यक्तिले आकष्मिक धन लाभ गर्दछ । व्यक्तिले उच्च शिक्षामा महत्वपूर्ण सफलता हाँसिल गर्न सक्दछ । व्यक्तिकोे बुद्धि, संचार क्षमता र व्यापारिक दृष्टिकोणमा समेत सकारात्मक प्रभावित गर्दछ र निर्णय क्षमता र सामाजिक जीवनमा समेत प्रभाव पार्दछ ।
          जन्म कुण्डलीमा बुध यदि खराब अवस्थामा छ भने व्यक्ति रुखो बोल्ने हुन्छ । व्यक्तिको सञ्चार क्षमता राम्रो हुदैँन, लेखनकला पनि राम्रो हुदैँन । अशुभ बुधको महादशामा व्यक्तिले व्यापार व्यवशायबाट समेत घाटा बेहोर्ने हुन्छ, हरेक निर्णयमा असफल रहन्छ । बौद्धिक क्षमतामा कमी आउँदछ । व्यक्तिको मति भ्रष्ट समेत हुन्छ । 
५. बृहस्पति (Jupiter)
          बृहस्पती ग्रहलाई सबै भन्दा शुभ ग्रहका रुपमा लिईएको छ । देवताका गुरु नै बृहस्पति हुन । बृहस्पति ग्रहले व्यक्तिलाई ज्ञान, शिक्षा सम्बृद्धि र वैभव प्रदान गर्दछ । जन्म कुण्डलीमा शुभ अवस्थामा बृहस्पति ग्रह भएमा र बृहस्पति ग्रहको नै महादशा चलेको समयमा व्यक्तिले बौद्धिक सफलता हाँसिल गर्दछ । भाग्य उदय हुन्छ र हरेक क्षेत्रमा भाग्यले साथ दिने गर्दछ । शुभ वृहस्पतिले व्यक्तिलाई सफल शिक्षक, प्रोफेसर, बैज्ञानिक, ज्योतिष, वकिल बनाउनमा प्रेरित गर्दछ । 
          यदि जन्म कुण्डलीमा अशुभ वृहस्पति छ र वृहस्पतिको नै महादशा चलेको छ भने व्यक्तिको जिवन संघर्षपूर्ण हुन्छ । व्यक्तिको जिवन दुर्भाग्यपूर्ण हुन्छ । व्यक्तिको बौद्धिक क्षमता, पेशागत सुखमा समेत कमी ल्याउँँछ । व्यक्तिले आर्थिक संकट समेत झेल्नुपर्ने हुन्छ । व्यक्तिको जीवनमा अनेक अवरोध र कठिनाइ आउन सक्छ ।
६. शुक्र (Venus)
          शुक्र ग्रहलाई लक्ष्मीसंग पनि तुलना गरिएको छ । शुक्र स्त्री कारक ग्रह हो । शुक्र ग्रहले व्यक्तिलाई प्रेम, विवाह, सौन्दर्य र भौतिक सुख प्रदान गर्दछ । यसले व्यक्तिको प्रेम जिवन र यौन जिवनलाई समेत प्रभावित पार्दछ । सुख सम्बृद्धिकमो कारक ग्रहका रुपमा पनि शुक्रलाई बुझ्न सकिन्छ । व्यक्तिको जन्म कुण्डलीमा शुक्र शुभ अवस्थामा छ र शुक्रको नै महादशा चलेको समयमा व्यक्ति सुन्दर, आकर्षक हुन्छ । व्यक्ति प्रेम जिवन र यौन जिवन र बैवाहिक सुखमा सफलता प्राप्त गर्दछ । धन र सम्बृद्धिले युक्त हुने गर्दछ । 
          जन्म कुण्डलीमा शुक्र अशुभ अवस्थामा छ र शुक्रको महादशा चलेको समयमा व्यक्तिको दाम्पत्य सुख राम्रो हुदैन । प्रेममा वियोग हुन्छ । व्यक्ति निर्धन हुने सम्भावना हुन्छ । व्यक्तिले भौतिक सुखबाट बन्चित हुनुपर्दछ भने जिवन संघर्षपूर्ण हुने गर्दछ ।
७. शनि (Saturn)
          शनि ग्रह सबैभन्दा ढिलो गतिमा घुम्ने ग्रह हो । यसले शुभ÷अशुभ फल ढिलो प्रदान गर्दछ । शनि ग्रहले व्यक्तिको कर्म, कठिनाइ र अनुशासनलाई प्रभावित गर्दछ । व्यक्तिको जन्म कुण्डलिमा शनि ग्रह शुभ अवस्थामा छ र शनिको नै महादशा चलेको छ भने व्यक्ति कडा परिश्रम गर्दछ र फल पनि शुभ नै पाउने हुन्छ । शुभ शनिले व्यक्तिलाई कर्म, न्याय र सम्बृद्धि प्रदान गर्दछ । 
          जन्म कुण्डलिमा यदि शनि अशुभ अवस्थामा छ र शनिको नै महादशा चलेको छ भने व्यक्तिको जीवन निकै संघर्षपूर्ण हुन्छ । यस्तो समयमा व्यक्तिले कर्मको फल प्राप्त गर्न सक्दैन । हरेक कार्यमा बाधा अड्चन आईरहन्छन । व्यक्ति सधैँ अन्यायमा परिरहन्छ । 
८. राहु/केतु(Rahu/Ketu)
          जन्म कुण्डलीमा शुभ ग्रहसंग शुभ योग बनाएर बसेको राहु र केतुले व्यक्तिलाई सधैँ सुख प्रदान गर्दछ । यदि जन्म कुण्डलीमा अशुभ ग्रहसंग अशुभ योग बनाएर बसेको छ भने यसले व्यक्तिलाई सधैँ दुख, कष्ट मात्र प्रदान गर्दछ । 
मानव जीवनमा ग्रह दशाको प्रभाव 
          सामान्य भाषामा बुझने हो भने समयसंगै ग्रहहरुले आफ्नो अवस्था र स्वभाव अनुसार दिने शुभ÷अशुभ फल नै ग्रह दशा हो । ज्योतिषशास्त्रका अनुसार व्यक्तिको जिवनमा ग्रहहरुको प्रभाव र समयसंगै त्यी ग्रहहरुले दिने शुभ÷अशुभ फललाई ग्रह दशाका रुपमा व्याख्या गरिएको छ । प्रत्येक व्यक्तिको जन्म समयमा आकाशमा अवस्थीत ग्रहहरुको वास्तविक अवस्थालाई जन्मकुण्डलीका रुपमा लिखित गरिन्छ । जन्मकुण्डली भने व्यक्तिको जन्म मिति, जन्म समय, जन्म स्थानका आधारमा तय गरिन्छ । ज्योतिष शास्त्रका अनुसार जन्म कुण्डलीमा अवस्थीत ग्रहहरुले समयसंगै व्यक्तिलाई के कस्तो फल दिदैँ जान्छ भन्ने कुराको निधो हुन्छ । 
ग्रहहरुले आफ्नो दशामा के कस्तो फल दिन्छन भन्ने कुरा चाहिँ ग्रहको बल, स्थिती, स्वभाव र उसको प्रभावबाट बुझने गरिन्छ । ज्योतिष शास्त्रमा प्रत्येक ग्रहको दशा कुन बेला चल्ने र कति समयका लागि चल्ने भन्ने कुरा पहिले नै निश्चितक हुन्छ । सबै भन्दा बढी प्रचलित दशाहरु ३ प्रकारका रहेका छन् त्यी हुन् ः विंशोत्तरी दशा, त्रिभागी दशा र योगिनी दशा । कतै अष्टोत्तरि दशालाई पनि प्राथमिकताका साथ हेर्ने गरिन्छ । यसरी प्रत्येक ग्रहले आफ्नो अधिकतम समय सम्म प्रभाव दिने समयावधिलाई महादशा पनि भनिन्छ । 
महादशाको अर्थ र प्रभाव
          सामान्य भाषामा बुझ्ने हो भने ग्रहहरुले भोग गर्ने समयावधिलाई महादशा भनिन्छ । एउटा ग्रहको महादशा अर्थात ग्रहले आफ्नो भोग गर्नुपर्ने सम्पूर्ण समय भोग गरिसकेपछि मात्र अर्को ग्रहको महादशा सुरु हुन्छ । आफ्नो भोगकालमा नै ग्रहहरुले शुभ÷अशुभ फल प्रदान गर्दछन् । प्रत्यक ग्रहले आफ्नो महादशामा व्यक्तिको जीवनका बिभिन्न पक्षहरुलाई प्रभावित पारिदिन्छ । कतिपय ग्रहको महादशा व्यक्तिका लागि अनुकुल हुनसक्छ भने कतिपय प्रतिकुल हुनसक्छ । यो सबै कुरा व्यक्तिको जन्मकुण्डलीमा अवस्थीत ग्रहको अवस्थाबाट थाहाका हुन्छ ।  
          खासगरि नेपालको सन्दर्भमा विंशोत्तरी महादशा र योगिनी दशालाई अधिकतम प्रयोग गरेको पाईन्छ । नेपालको सन्दर्भमा विंशोत्तरी महादशा र योगिनी दशाको असाध्यै प्रभाव हुने ज्योर्तिविदहरुको तर्क छ । तर, कतिपय ज्योतिषीहरुले त्रिभागि महादशा र अष्टोत्तरीलाई पनि प्रयोग गर्दै आएका छन् । मैले यो लेखमा खासगरि बिंशोत्तरी महादशा र योगिनी दशालाई नै प्रमाण मानेको छु ।
          व्यक्तिको जिवनमा पहिले कुन ग्रहको दशा वा योगिनी दशा सुरु हुन्छ भनि उसको जन्म नक्षेत्र(चन्द्रमाको अवस्था) अनुसार निर्धारण गरिएको हुन्छ । पंचाङ्गमा यसबारेमा वृस्तीत विवरण उल्लेख गरिएको पाईन्छ । उदाहरणको लागि विंशोत्तरी महादशा चक्रमा कुन ग्रहको महादशा कति समयका लागि हुन्छ र त्यसपछि कुन ग्रहको महादशा कति समयका लागि आउँछ  भन्ने कुरा यसरी निर्धारण गरिएको हुन्छ ।
विंशोत्तरी महादशा 
          ज्योतिष शास्त्रले ब्रह्माण्डमा रहेका ९ वटा ग्रहहरुको अस्तीत्वलाई मात्र स्वीकार गरेको छ जस्तैः सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पती, शुक्र, शनि, राहु र केतु । यीनै ९ वटा ग्रहहरुले पालैपालो आफ्नो समयाअवधि भोग गरेर व्यक्तिको जीवनलाई प्रभावित पार्दछन । विंशोत्तरी महादशामा व्यक्तिको आयुलाई औसतमा १२० (एक सय बिस) बर्ष प्रमाण मानेर ग्रहहरुलाई बिभाजन गरिएको छ । ज्योतिष शास्त्र अनुसार विंशोत्तरी महादशामा ग्रहहरुको क्रम र समयावधिलाई यसरी उल्लेख गरिएको छ ।
विंशोत्तरी महादशा अनुसार
सूर्य ग्रहको महादशा ः ६ बर्ष 
चन्द्र ग्रहको महादशाः १० बर्ष 
मंगल ग्रहको महादशाः ७ बर्ष 
राहु गक्रहको महादशा ः १८ बर्ष 
बृहस्पती ग्रहको महादशाः १६ बर्ष 
शनि ग्रहको महादशा ः १९ बर्ष 
बुध ग्रहको महादशा ः १७ बर्ष 
केतु ग्रहको महादशाः ७ बर्ष 
शुक्र ग्रहको मशादशा ः २० बर्ष   
योगिनी दशा
          योगिनी देवीहरुको नाममा आधारित रहेर निर्माण गरिएको दशा प्रणाली हो । योगिनीहरुलाई ग्रहको पत्नीको रुपमा पनि व्याख्या गरेको पाईन्छ । जम्मा ८ वटा योगिनी दशाहरु छन् । प्रत्यक ग्रहको पत्नीका रुपमा रहेको योगिनीहरुले आफ्नो दशामा आफ्नो पति(कारक ग्रह) को अवस्था र स्वभाव अनुसार फल दिन्छन । अर्थात, व्यक्तिको जन्म कुण्डलीमा योगिनीको कारक ग्रह जस्तो अवस्थामा छ त्यहि अनुसार शुभ÷अशुभ फल दिने हुन्छ । ज्योतिष शास्त्र अनुसार योगिनी दशामा योगिनीहरुको क्रम र समयावधिलाई यसरी उल्लेख गरिएको छ ।
योगिनी दशा 
मंगला (चन्द्र)         १ बर्ष
पिगला (सूर्य) ः        २ बर्ष 
धान्या (बृहस्पती) ः     ३ बर्ष 
भ्रामरी (मंगल) ः       ४ बर्ष 
भद्रिका (बुध) ः         ५ बर्ष 
उल्का (शनि) ः         ६ बर्ष
सिद्धा( शुक्र) ः          ७ बर्ष 
संकटा (राहु÷केतु) ः     ८ बर्ष

खराब ग्रहको प्रभावबाट बच्ने उपायहरूः
          ग्रह दशाले हाम्रो जीवनमा प्रतिकूल प्रभाव पार्न सक्छ भन्ने कुराको प्रमाण माथि उल्लेख भईसकेको छ । तर ज्योतिष शास्त्रमा प्रत्येक ग्रहको प्रतिकूल प्रभावलाई टार्नका लागि उपायहरू पनि छन् । खराब ग्रहको प्रभावबाट बच्नका लागि व्यक्तिले पूजा, व्रत, रत्नधारण, दान र अन्य ज्योतिषीय विधिहरू अपनाउन सक्छन । यदि तपाईंको कुण्डलीमा कुनै ग्रह प्रतिकूल स्थितिमा छ भने, यसको प्रभाव कम गर्न विभिन्न उपायहरू अवलम्बन गर्न सकिन्छ । योग्य, विद्धान ज्योतिषीबाट आफ्नो जन्म कुण्डली वृस्तीत रुपमा देखाएर आवश्यक उपाय गरेमा ग्रहहरुको नकारात्मक प्रभावबाट बच्न सकिन्छ ।  
निष्कर्षः
          ग्रह दशाले व्यक्तिको जीवनको महत्वपूर्ण पक्षहरूमा प्रभाव पार्छ । यसको प्रभाव हाम्रो मानसिकता, स्वास्थ्य, सम्बन्ध र समृद्धिमा प्रत्यक्ष रुपमा देखिन्छ । व्यक्तिको जन्म कुण्डलीको अध्ययन र ग्रह दशाको सही विश्लेषणले जीवनका समस्याहरू र अवसरहरूको पहिचान गर्न मद्दत पुर्याउँछ । www.astrokhemmishra.com  मा गएर ‘ग्रहको प्रभाव र समाधान’  सम्बन्धी थप सामाग्री हेर्न र पढ्न सक्नुहुन्छ ।  
                                                                                                                                                            (लेखक फलित ज्योतिषमा विद्यावारिधी गरिरहनु भएको छ) 

सम्बन्धित पोस्ट